२०७८ – ४-१२(नेपालनीति) -राजन भण्डारी

आज श्रावण १२ गते । नेपालमा रक्तसञ्चार सेवा स्थापना दिवस । सुलभ, गुणस्तरीय र मर्यादित सेवा ः नेपालको रक्तसञ्चार सेवा मूल नाराका साथ ५५ औँ वार्षिकोत्सवका कार्यक्रम आयोजना हुदैछन् ।

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) स्थापना भएको तीन बर्षपछि अर्थात् वि.सं २०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रको सञ्चालन प्रारम्भ भएको थियो ।

यस दिवसको अवसरमा रक्तदाता, रक्तसंकलन गर्ने संघ संस्थाहरु र सहयोगीहरुलाई धन्यबाद कार्यक्रमहरु देशव्यापीरुपमा आयोजना हुदैछन् । साथै, काठमाडौँ उपत्यका लगायत देशैभरी रक्तसंकलन शिविरहरु आयोजना गरिएका छन् ।

दिवसकै अवसरमा केन्द्रीय रक्तसञ्चार सेवाले साउन १ देखि १२ गते सम्म आयोजित विशेष रगतसंकलन कार्यक्रम अन्तरर्गत विभिन्न संस्थाहरुको सहयोगमा ९१२ जनाले रक्तदान गर्नुभएको छ ।  आज बागबजार, बाडेगाँउ ललितपुर, लामपोखरी र  चावहिलमा आयोजना हुने शिविरहरुमा रक्तदाता प्रति विशेष धन्यवाद कार्यक्रम आयोजना हुदैछन् ।

दिवसकै अवसरमा आज  आर्थिक वर्ष २०७७।०७८ को प्रारभ्भिक बार्षिक प्रतिवेदन सार्वजनिक हुने कार्यक्रम रहेको छ ।

नेरेसो केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले रक्तसञ्चार सेवा सञ्चालन, विकास र विस्तारमा नेपाल सरकारका विभिन्न निकायहरू, यूवा, विद्यार्थी, मजदुर, पेशा व्यवसायी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राजनैतिक दल र भातृसंगठन लगायत आम रक्तदाता, शैक्षिक संस्था, सहकारी, वित्तीय संघसंस्था, नियमित रक्तदान कार्यक्रम गर्ने संघ संस्था, रक्तदाताहरूका सञ्जालहरू, रक्तदान कार्यक्रम आयोजकहरू, विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सक्रिय सहयोगको हार्दिक आभार व्यक्त गर्नुभएको छ  ।

नेपाल रेडक्रस सोसाइटीले काठमाडौंमा केन्द्रीय रक्तसञ्चार सेवाको अलावा विराटनगर, भरतपुर, पोखरा, नेपालगंज र धनगढी गरी ५ स्थानमा प्रदेश रक्त सञ्चार सेवा संचालन गरीरहेको छ । यसैगरी २२ जिल्लामा जिल्ला स्तरीय, विभिन्न जिल्लाको ४१ स्थानबाट आकस्मिक रक्त सञ्चार सेवा प्रदान गरिएको छ । विभिन्न ४९ वटा अस्पतालबाट पनि रक्त सञ्चार सेवा प्रदान भइआएको छ ।

नेपालको ७० जिल्लाका ११७ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरू क्रियाशिल छन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट