आरती पाण्डेय, भदौ २५। “नमस्ते! मेरो नाम रोजिन बस्नेत, उमेर १२ वर्ष अनि घर ठूला शहरका ठूलाठूला पेटीहरू।मेरी आमाको म ३ वर्षको हुँदा स्वर्गवास भयो,बुबा कहाँ हुनुहुन्छ थाहा छैन। यिनै सडकपेटीमा सुत्छु, यिनै मेरा लागि घर र यो विशाल आकाश छानो बनेका छन्। दिनभरि साथीहरुसँग बाटोमा माग्न जान्छु।अलिअलि कमाएको पैसाले राती एकछाक खान जुट्छ। ममता, स्नेह, हेरचाह कस्तो हुन्छ अनुभव छैन।बाटोमा आफ्नै उमेरका केटाकेटीहरू आमाबुबाको हात समाउँदै हिँडेको देख्दा मेरो पनि यस्तै परिवार भइदिएको भए म पनि यस्तै गरी हिड्ने थिए जस्तो लाग्छ। तर नियतिको दोष होला, म त्यो जिन्दगीबाट वञ्चित छु। नाम चलेको गायक हुने सपना थियो तर ऐले आफ्नै जिन्दगी कहाली लाग्दो मार्मिक गीत जस्तो भएको छ जसलाई गाउँ भने कसैले सुन्दैन नगाई मनले मान्दैन।हातमा चुरोट छ साथको नाममा,यसकै सहारामा रमाइरहेको छु।”
यो त रह्यो एउटा रोजिनको कथा।यस्ता रोजिनहरु हाम्रै वरिपरि,हाम्रै गाउँसहरका गल्ली(गल्लीमा भेटिन्छन्।हातमा चुरोट सल्काउदै,कलिलो उमेरमा नै आफ्ना सारा रहरहरु त्यहीं चुरोटको धुवासँगै उडाइरहेका जिन्दगी जिउने रोजिनहरुको कमि छैन। ती कलिला हातहरूमा कबाडी सामानले भरिपूर्ण बोरा बोक्दै कोमल आँखाहरूमा एक छाक अन्न खाली पेटमा भर्ने निर्दोष आशा सजाउँदै टोलटोलमा भौतारिरहेका छन्। रोजिनको कथा ती बेसाहारा अनगिन्ती बालबालिकहरुको हो जो यस क्रूर समाजका क्रूर रितिहरुसँग दिनहुँ जुध्दै आइरहेका छन्।
घर कहाँ थाहा छैन,आफ्नोपनको महसुस थाहा छैन,माया के ममता के आमाबुबाको काखको न्यानोपन कस्तो हुन्छ थाहा छैन। शिक्षा, स्वास्थ्यबाट जान अन्जानमै वञ्चित ती अबोध मस्तिष्कहरु कतै आफ्नै जन्मदिने आमाबुवाबाट फोहोर जसरी मिलकाइएका त कतै गरिबीबाट ग्रसित अवस्थाबाट सडकमा पुगेका भेटिन्छन्।कसैको एक मुस्कानमै रमाउन सक्ने साना सपनाहरुलाई सजिलै बुझ्न सकिन्छ। अबुझ अनि निर्दोष मस्तिष्क जो यति ठूलो संसारको यति ठूलो अन्याय भोग्न बाध्य छन्।रहर कस्लाई हुँदैन होला र सामान्य जीवन जिउन,५र१० रुपैयाँको लागि कसैको पाउँमा त कतै आफूभन्दा दुई गुणा ठूलो भारी बोकेको अवस्थमा भेटिने कलिला कोपिलाहरु जो कोहीले पनि टप्प टिपेर निमोठिदिन्छन्।
सपना अब एउटै छ कि कुनै रोजिनको पेट खाली नरहोस्। अलिकति माया अनि अलिकति हेरचाह बाट कुनै बालक वञ्चित नरहोस्।अब कुनै रहरहरु धुवासंगै उड्न बाध्य नहोस् ।मोजमस्तीमा उड्ने पैसाको केही अंश अब बालगृह सम्म पुगोस्।आखिर अब कहिले सम्म हेरेर मात्र बस्नेरु परिवर्तन आफैबाट सम्भव छ।चाहने हो भने धेरै गर्न सकिन्छ।हामी मध्ये १-१ जनाले एउटा एउटा रोजीनको लागि सहयोग गर्ने आँट गर्ने हो भने भोलिका दिनहरूमा अरु रोजिनहरू भेटिने छैनन।
सुरुवात आफैबाट गरौं, परिवर्तन आफैबाट सम्भव छ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट