बुटवल, भदौ ९ (नेपालनीति) । २ वर्ष पुगिसकेछ मेरा सपनाहरुले देह त्याग गरेको, मेरो भर्खर खेल्दै गरेको शरिर लुटिएको, नाङ्गिएको र बेसहारा फालिएको । न त यो शरीरले न्याय पायो,न ती सपनाहरु कहिल्यै बिउँझिए। गिद्धले सिनो लुछे जसरी मेरो शरिर लुछ्ने अपराधी न्यायकै ढोका वरिपरि स्वतंत्र घुमिरहेका छन । उता मेरा बुबा मेरा निम्ति लड्दा लड्दै पागल भई सक्नुभएछ, मेरी आमाका आँखा खै कहिले ओभाउने हुन थाहा छैन।
म जस्ता निर्मलाहरू कति छन् थाहा छैन। म बेसहारा विवश भई यहाँबाट हेर्न बाहेक अरु केही गर्न सक्दिन। कोही निर्मला ११ महिनामै बलात्कारको शिकार बने,कोही ६० वर्षको उमेरमा,त कोही कल्कलाउँदो जवानी मै।
आखिर उमेरले बलात्कारीको नियत नछेक्ने रहेनछ। म देख्छु, यहाँ म जस्ता कयौं निर्मलाहरु जो बिहान केही गर्छु भनि घरबाट हिडेका राती घर पुग्दैनन् र केही दिनपछि नाङ्गिएको, कुहिएको अवस्थमा भेटिन्छन्। के यति सजिलो छ र कसैको सपनाको हत्या गर्न ?  कहिँ कतै यो पनि कसैकी बहिनी हो, कसैकी छोरी हो भन्ने सोच आउँदैन ?  जब यस्तो घटना देख्छु, भागेर गई ती दिदीलाई बचाउन मन लाग्छ। त्यो चित्कार सुन्दा आफ्नै पीडा सम्झना आउँछ। बाबा मलाई बचाउ भन्दै गुहार्दा कसैले नसुन्दा कस्तो लाग्छ राम्रो सँग भोगेकी छु। यस्तो लाग्छ कि अहिले भर्खरै न्याय को खुकुरी म आफै चलाइदिउ। त्यो दया नभएको पशुलाई टुक्रा टुक्रा गरी काटेर फालिदिन सकें सायद यो तड्पिरहेको आत्माले शान्ति पाउने थियो। तर पीडा सहन नसकेर बगेका रगतका खोला देख्दा डर लाग्छ बुबा अनि रुन बाहेक केही गर्न सक्दिन र फेरि धिकार्छु हाम्रो न्याय दिन नसक्ने कानुनलाई।
सामाजिक सञ्जालमा मेरा निम्ति न्याय माग्ने भीड देख्दा कहिँ कतै आशा जाग्छ, मेरो नाङ्गिएको शरीरले न्यायको सुकिलो पछ्यौरी पाउँछ कि, मेरा बुबा मेरै निम्ति बौलाएको खेरा जाँदैन कि जस्तो लाग्छ, मेरी आमाको आँचलले पुनः आँसु पुछ्न पर्दैन कि जस्तो लाग्छ तर त्यही मेरा निम्ति न्याय माग्नेहरुको आँखा अर्कै दिदीको स्तनमा सलबलाएको देख्छु, म फेरि निरासिन्छु। यहाँ मैले न्याय पाउनु र उता फेरि अर्कै निर्मलाको जन्म भयो भने मैले न्याय पाउनुको कुनै औचित्य रह्यो र रु
आखिर यो सबै कहिले सम्म ? के यो सिलसिला कहिले अन्त्य नै हुँदैन ? म त मरिसके,थाहा छैन बाँचिरहेका मेरा दिदिबहिनी कहिलेसम्म सुरक्षित छन् । न्याय त अन्धो हुन्छ भन्थे तर आजभोली न्याय धनसँग बिक्न लागिसकेछ क्यारे । खै त त्यो तराजुमा अन्यायले न्याय पाएको ? कि धनले न्यायको तौललाई पछि पारिसक्यो ?
अब एउटै ईच्छा छ, जहाँ अब कुनै आमाको कोखबाट अरु निर्मलाको जन्म नहोस् । मेरी आमाले जस्तो आफ्नै छोरीको लुटिएको शरीर देखेर अब कुनै आमालाई जिउँदै मर्नु नपरोस्। आफ्नै दाजुभाईबाट अब कुनै बहिनी या दिदीलाई डर महसुस नहोस्, आफ्नै कोखबाट जन्मिएको छोराबाट अब कुनै आमालाई बलात्कृत हुनु नपरोस्, आफ्नै काका, मामाबाट कुनै चेलीको इज्जत नलुटियोस। सबै नारीहरू खुलेर आफ्नो बाटोमा हिँड्न पाउन,केही गर्छु भनेर हिडेका सपनाहरु बिच बाटोमै नमरुन। अब कुनै दिदीको कुर्था, कुनै आमाको सारी नच्यातियोस । जब सामाजिक सञ्जालमा #JusticeforNirmalaPanta लेख्ने हातहरु नारीको सम्मान र संरक्षणका निम्ति उठ्नेछन् तब म मात्र होइन म जस्ता कैयौं न्याय नपाएका निर्दोष निर्मलाहरुले न्याय पाउनेछन्।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट