काठमाडौं, भदौ ७ (नेपालनीति) । कोरोना भाइरस (कोभिड–१९) को असर समग्र अर्थतन्त्रमा देखिएको छ । यसको असर नेपाली बैंकिङ क्षेत्रमा पनि प्रत्यक्ष देखिएको छ । मुलुकमा सञ्चालित २७ कमर्सियल बैंकहरुको वित्तीय विवरणले नै कोरोनाको असर बैंकिङ क्षेत्रमा कति परेको छ भन्ने पुष्टि गराउँछ ।

गत आर्थिक वर्ष २०७६र७७ को तथ्यांक हेर्ने हो भने कमर्सियल बैंकहरुको नाफामा ८ अर्ब ६८ करोड ४९ लाख एक हजार रुपैयाँले कमी आएको छ । गत आर्थिक वर्ष २०७६र७७ मा २७ वाणिज्य बैंकहरुले ५४ अर्ब ३१ करोड ६ हजार ९८ रुपैयाँ कमाएका छन् । अघिल्लो आर्थिक वर्ष २०७५र७६ मा वाणिज्य बैंकहरुले ६३ अर्ब रुपैयाँ ९ सय ९९ रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए ।
कोभिडका कारण बैंकको नाफामात्रै घटेको छैन, निष्कृय कर्जासमेत बढेको छ । ११ चैतदेखि भएको १२० दिन लामो लकडाउनमा पनि बैंकहरुले सेवा सुचारु राखे पनि यसको असर भने राम्रै देखिएको छ । देशभर कोरोना त्रासका कारण नयाँ व्यवसायहरु सञ्चालनमा आउन सकेनन् भने सञ्चालनमै रहेका उद्योगव्यवसायले पनि थप विस्तार गर्न सकेनन् । यसले गर्दा बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम बढ्यो ।

नयाँ कर्जा लगानी त हुन सकेन नै लगानीमा रहेका कर्जाको समेत ब्याज नउठ्दा बैंकहरु थप समस्यामा परे । अघिल्लो आर्थिक वर्ष १.४४ प्रतिशत रहेको बैंकहरुको निष्कृय कर्जा बढेर १.७३ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल कोभिडकै कारण बैंकहरुको निष्कृय कर्जा बढेको बताउँछन् । कोभिडका कारण व्यापारव्यवासय नहुँदा त्यसको असर बैंकसम्म पुगेको उनले बताए । ‘कोभिडको कारण व्यापार व्यवसाय हुन सकेन, व्यापार व्यवसाय नभएपछि ब्याज आएन,’ कार्यकारी निर्देशक ढकालले भने, ‘उठ्नुपर्ने पैसा नउठेपछि त यसको असर पर्ने नै भयो, यसकारण बैंकको एनपीएल (निष्कृय कर्जा) बढेको छ ।’

एनएमबि बैंकका अध्यक्ष विन गोल्यान पनि बैंकिङ क्षेत्रमा कोभिडको असर परेको बताउँछन् । जसको प्रभाव निष्कृय कर्जामा देखियो । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष समेत रहेका गोल्यानले प्रोभिजनिङ सम्बन्धी व्यवस्थाका कारण पनि अधिकांश बैंकहरुको निष्कृय कर्जा बढेको बताए ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट