साउन १७,( नेपालनिती) । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि श्रम कार्यालयका प्रमुखमाथि आक्रमण भएको बताए।

दुवै जना मिलेर टेबुलमाथि राखेको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिन लगायतले प्रहार गरेको प्रहरीको भनाइ छ। दुवै जना कार्यालयका करारका कर्मचारी हुन्। एपसी खड्काले कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए।

कुटपिटबाट सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चोट लागेको र ओठ फुटेको प्रहरीले जनाएको छ। श्रम कार्यालय स्रोतकाअनुसार काम नगरेको भन्दै सञ्जेलले करारका नायव सुब्बा निर्मलकुमार दाहाललाई शुक्रबार कामबाट निकालिदिएका थिए।

दाहाल कुटपिटमा संलग्नमध्ये नेत्र भट्टराई (निरौला) को बहिनी ज्वाईँ हुन्। केही दिनअघि कार्यालयको पानी तान्ने मोटर पनि चोरी भएको थियो। मोटर चोरी भएपछि र कार्यालयका सामानको सुरक्षा नभएको भन्दै सञ्जेलले चार जना करारका कार्यालय सहायक मध्ये दुई÷दुई जना गरेर पालो हिसाबले २४ घण्टानै ड्युटीमा खटाएका थिए।

महिला कर्मचारीलाई २४ घण्टानै ड्युटीमा लगाएको भन्दै कार्यालय सहायक सञ्जेलसँग आक्रोशित बनेको एक कर्मचारीले बताए। ‘बहिनी ज्वाईंलाई कामबाट निकालिदिएको र आफूलाई पनि २४ घण्टा नै ड्युटीमा लगाएपछि सञ्जेलसँग निरौला आक्रोसित बनेकी थिइन्,’ उनले भने, ‘त्यही रिस फेर्न अर्की कार्यालय सहायकसँग सहयोग लिएर कार्यकक्षभित्रै प्रमुखमाथि आक्रमण गरियो।’

प्रहरीले पनि अनआवश्यक ड्युटीमा लगाउँदै काममा पेलेर धेरै दुःख दिने गरेको र आफन्तलाई कामबाट निकालिदिएको रिसमा कुटपिट गरेको खुलेको बताएको छ। पटक–पटक सञ्जेलले गालीगलौज गर्ने र अनाआवश्यक ड्युटीमा लगाउँदै एकलौटी पेल्ने काम गरेकाले पनि कुटपिट गरेको उनीहरुले प्रहरीलाई बताएका छन्।

कुटपिटमा संलग्न दुवै जना शनिबार बिहान १० बजेतिर कार्यालयमा आइपुगेका थिए। केही बेरमा चालक निरज भट्टराईले गाडीमा सञ्जेललाई पनि लिएर कार्यालयमा आइपुगे। सञ्जेल सबै सार्वजनिक विदाका दिन पनि कार्यालयमै आएर काम गर्ने गर्छन्। प्रत्येक दिन राति ८/९ बजेसम्म कार्यालयकै काममा व्यस्त हुन्छन्।

घटनाका प्रत्यक्षदर्शी स्थानीय रेवतीप्रसाद अधिकारीकाअनुसार सञ्जेल आइपुगेको केही बेरमा नेत्र र मेनुका पनि कार्यालयतिर लागेका थिए। ‘दुवै जना कार्यालय आइपुगेदेखि नै आक्रोशित देखिन्थे,’ अधिकारीले भने, ‘उनीहरुले कार्यकक्षमा पुगेर सञ्जेलमाथि कुटपिट गर्न थालेको हामीले चाल पायौं।’ कुटपिट भएको थाहा पाएपछि पुग्दा एकोहोरो हानिरहेको देखेको उनले सुनाए।

‘घटना थाहा पाएर हामी सबै गयौं। सञ्जेल आफैंले ढोकाको चुक्कुल चैं खोल्न भ्याएको पाइयो,’ उनले भने, ‘उनीहरु जे भेट्यो त्यसैले कुटीरहेका थिए। तत्काल हामी नपुगेको भए अप्रिय घटना पनि हुन सक्ने अवस्था थियो।’

कुटपिटमा संलग्नले सञ्जेलको कार्यकक्षमा रहेका सामान फ्यालिदिनुका साथै कागजपत्र पनि च्यातिदिएको प्रहरीले जनाएको छ ।

निक्कै खरो स्वभावका सञ्जेल कार्यालयमा हुने ढिलासुस्तीको पनि विरोधी हुन्। काममा झारा टार्ने, ढिलासुस्ती गर्ने, घुस खाने र सेवाग्राहीलाई सहज ढंगले सेवा प्रवाह नगर्ने कर्मचारीलाई उनले तत्कालै जागिरबाट हटाउने गरेका छन्।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट


 





 

error: Content is protected !!