पुस्प राज दाहाल :

कोभिड–१९ हाल विश्वव्यापी महामारीका रूपमा फैलिइरहेको छ । कोरोना भाइरसबाट लाग्ने यस कोभिड–१९ रोगको औषधि आजसम्म पनि पत्ता लगेको छैन । हुन त यो कोरोना नयाँ भाइरस त होइन, वैज्ञानिकहरूले सन् १९६० मै यसको पहिचान गरिसकेका थिए । यसका विभिन्न ६ प्रजाति पहिचान भइसकेका छन् । जसमध्ये चार प्रजातिले साधारण रुघाखोकी र ज्वरोजस्ता लक्षण मात्र देखाउँछन् भने बाँकी दुई प्रजाति जस्तै– सार्स कोभ र मार्स कोभका कारण प्राणघातक निमोनिया लाग्छ । सन् २००२ र २०१२ मा सार्स र मार्सजस्ता प्राणघातक रोग  यसै कोरोना भाइरसका कारण फैलिएका थिए ।

वैज्ञानिक अनुसन्धानअनुसार कोरोना भाइरसले मानिसमा मात्र नभएर अन्य स्तनधारी जनावर तथा चरचुरुंगीमा पनि संक्रमण गर्छ । मानिस तथा कुखुरामा श्वासप्रश्वाससम्बन्धी रोग लाग्छ भने अन्य जनावरमा पाचन प्रणालीमा संक्रमण गर्छ । कोभिड–१९ रोग लगाउने यो कोरोना भाइरसका धेरै गुण २००२ मा देखिएको सार्स कोभसँग मिल्छन् । त्यसैले यो कोभिड–१९ रोग लगाउने भाइरसलाई सार्स–कोभ–२ नाम दिइएको छ । साथै, यस्तै गुण भएका भाइरस चमेरोमा पनि पाइने तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भइसकेको छ । तसर्थ, यस्तो प्राणघातक रोग लगाउन सक्ने कोरोना भाइरस लामो समयसम्म वातावरणमा रहेर मानव समाजलाई चुनौती दिने निर्विवादजस्तै छ ।

भाइरस सजीव हो या निर्जीव वस्तु भन्ने बहस लामो समयदेखि चलिरहेको छ । भाइरस वातावरणमा निर्जीव रूपमा लामै समयसम्म रहन सक्छ । जब भाइरस उपयुक्त अथवा अनुकूल ‘होस्ट’ जस्तै– बोटबिरुवा, जनावर वा मानिसमा प्रवेश गर्छ, तब यसले सजीवका गुण देखाउन थाल्छ । अनुकूल होस्टमा प्रवेश गरिसकेपछि यसको संख्या वृद्धि हुन थाल्छ । भाइरसले होस्टको जीवकोषमा पसेर होस्टकै संयन्त्र उपयोग गर्दै आफ्नो वंशाणुका प्रतिरूप ठूलो संख्यामा निर्माण गर्ने मात्र होइन, आफ्नो विकासका लागि चाहिने बाहिरी खोलका पत्रसमेत उसैबाट निर्माण गरेर बाहिर निस्कने या होस्टकै शरीरमा आफ्नो आस्तित्वलाई निरन्तरता दिन सक्छ ! जब कुनै पनि होस्टको तन्तुमा भाइरसको वृद्धि र विकास हुन थाल्दछ, तब यसले होस्टका तन्तुलाई नाश गर्छ र होस्टका अंगको कार्यक्षमता नष्ट गरिदिन्छ । यसै कारण होस्टको मृत्यु हुन्छ ।

त्यसैले, जब मानिसको शरीरमा विभिन्न माध्यम जस्तै– हावा, खाद्यवस्तु, धातुजन्य वस्तु, प्लास्टिकका सामान, कागज, कागजका सामान तथा संक्रमित मानिसको सम्पर्कबाट हात हुँदै नाक, कान, मुख र आँखाबाट कोरोना भाइरस प्रवेश गर्छ, तब यो भाइरस मानिसको श्वासप्रश्वास नलीको इपिथेलियल तन्तुमा टाँसिन्छ । भाइरस मानिसको तन्तुमा टाँसिएपछि यसको संख्या वृद्धि हुन्छ । भाइरसको वृद्धि र विकाससँगै सुरुमा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, ज्यान दुख्ने, स्वाद र गन्ध थाहा नहुने आदि लक्षण देखिन थाल्छन् । यी लक्षण पाँचदेखि १४ दिनभित्र देखिन्छन् । यस्ता लक्षण बढ्दै गएपछि प्राणघातक निमोनिया हुन्छ र मानिसको ज्यान जान सक्छ ।

कोरोना भाइरसको औषधि तथा खोप हालसम्म पनि आविष्कार नभएकाले साधारण लक्षण देखिँदा नै सिटामोल खाने, तातोपानी पिउने, अन्य मानिसबाट दूरी कायम गर्ने र दरिलो आत्मविश्वास विकास गर्नेजस्ता सल्लाह विज्ञले दिएका छन् । बिरामीको अवस्था गम्भीर भएमा अस्पताल भर्ना गरेर कृत्रिम श्वासप्रश्वासको व्यवस्था गर्नुपर्छ ।

सकेसम्म रोग लग्न नदिन बारम्बार साबुनपानीले हात धुने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, भिडभाडमा नजानेजस्ता उपाय अवलम्बन गर्नु नै उत्तम मानिन्छ । सावधानी अपनाउँदाअपनाउँदै पनि कुनै लक्षण देखियो भने परिवार तथा साथीभाइसँग निश्चित दूरीमा रहेर समाजमा रोग फैलनबाट रोक्न सकिन्छ ।

विश्वका विभिन्न देशले समाजमा कोरोना भाइरस फैलन नपाओस् भनेर बन्दाबन्दी गरिरहेका छन् । वास्तवमा बन्दाबन्दी गर्नुको मुख्य उद्देश्य भनेको समाजमा रोग फैलनु पहिले नै रोकथामका उचित उपाय जस्तै– संक्रमित व्यक्तिको पहिचान गर्नु, रोग लागिहालेमा उपचारका लागि आवश्यक पर्ने जनशक्ति, सामग्री तथा स्थानको व्यवस्थापन गर्नु तथा जनस्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आदि हुन् । हुन त सिमाना जोडिएको, उल्लेख्य आर्थिक कारोबार भएको तथा पर्यटकीय हिसाबले महŒवपूर्ण मानिएको छिमेकी देश चीनमा कोरोन सुरु भएको लामो समयसम्म पनि नेपाल सरकारले कुनै तयारी नगर्नु विडम्बना नै मान्नुपर्छ ।

नेपालमा लामो बन्दाबन्दी भइसक्दा पनि उल्लिखित कार्य प्रभावकारी रूपमा कार्यान्वयन भएको देखिँदैन । फितलो बन्दाबन्दी, स्वास्थ्य सामग्रीको अपर्याप्तता, कछुवा गतिको परीक्षणजस्ता पक्षले जनमानसमा सरकारी कामप्रति सन्देह पैदा गरेको छ । हुन त सीमित स्रोतका बाबजुद पनि जनताको स्वास्थ्यका लागि सरकार दिनरात नभनी लागिरहेको कुरा स्वास्थ्य मन्त्रालय र विभिन्न सरोकारवाला संस्थाले दिनहुँजसो सञ्चार माध्यममा भनिरहेकै छन् । तैपनि, परीक्षणको गति हेर्दा सरकारी दाबी पत्यारलाग्दो देखिँदैन ।

भाइरस पहिचान गर्न यसको अनुवांशिक गुणको अध्ययन गर्नुपर्ने हुन्छ, जसका लागि पिसिआर प्रविधि प्रयोग गरिन्छ । यो विधिका लागि आरटी पिसिआर मेसिन र उच्च प्राविधिक जनशक्तिको आवश्यकता पर्छ । नेपालमा हाल भइरहेको परीक्षणको गति हेर्दा सरकारसँग दक्ष जनशक्ति र आवश्यक उपकरणको अभाव भएजस्तो देखिन्छ । २४ जनवरी २०२० मा कोभिड–१९ को पहिलो बिरामी देखिएको नेपालमा हालसम्ममा दुई सय ५८ मा यो रोग देखिएको छ । सौभाग्यको कुरा आजसम्म एकजनाको पनि मृत्यु भएको छैन ।

हालसम्म जम्मा २२ हजार ६ सय ७३ को मात्र पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उल्लेख छ । के कारणले नेपालमा संक्रमित पहिचानका लागि गरिने परीक्षण सुस्त छ ? आवश्यक उपकरणको कमी हो कि दक्ष जनशक्तिको ? या इच्छाशक्तिको अभाव हो ? उपकरण अभाव हो भने अनावश्यक फजुल खर्च कटौती गरेर स्वास्थ्य क्षेत्रमा लगानी गर्नुप¥यो । जनताको स्वास्थ्यभन्दा ठूलो अरू केही हुन सक्दैन । हैन, उपकरण पर्याप्त छन्, तर जनशक्ति अभाव हो भने नेपाल सरकारले पूर्वाग्रही हुन छोडेर आफ्नै देशका उच्च प्राविधिक क्षमता भएका दक्ष जनशक्तिलाई अवसर दिनुप¥यो ।

नेपालमा रहेका माइक्रोबायोलोजिस्टहरूले विभिन्न किसिमका सूक्ष्म जीव विषाणु, जीवाणु आदिबारे, तिनले फैलाउने रोग, रोगका लक्षण, रोकथामका उपाय, रोगविरुद्ध प्रयोग हुने औषधि, वातावरण प्रदूषण र जनस्वास्थ्यमा यसको प्रभावबारे अनुसन्धान गरी पहिचान गर्ने सीप र दक्षता हासिल गरेका छन् । देशमा स्वास्थ्य संकट पर्दा र आवश्यक जनशक्ति अभाव हुँदा पनि माइक्रोबायोलोजिस्टहरूको ज्ञान र सीपलाई देश र जनताका लागि उपयोग नगरिनु निश्चय नै दुःखद हो ! झन्डै चार हजार माइक्रोबायोलोजिस्टले लामो समयदेखि आफ्नो ज्ञान र सीपको उचित उपयोग नभएको गुनासो गरिरहेका छन् भने नेपाल सरकार महामारीको यस्तो समयमा दैनिक एक–दुई सयको पिसिआर परीक्षण गरेर कोरोनाविरुद्धको महायुद्ध जित्ने संकल्प गरिरहेको छ ।

कुनै पनि युद्ध जित्न दक्ष र अनुभवी सैनिक तथा अत्याधुनिक हतियारको आवश्यकता पर्छ । त्यसैले यो कोरोना महामारीमा आग्रह, पूर्वाग्रह छोडेर माइक्रोबायोलोजिस्टको सीप र दक्षता उपयोग गरी नेपालको संविधानले व्यवस्था गरेको स्वास्थ्य र रोजगारीमा सबैको अधिकार भन्ने मौलिक हक संरक्षण गरौँ । आजको एउटा राम्रो निर्णयले भविष्यमा पनि आउन सक्ने यस्ता भयावह समस्यासँग लड्न दह्रो सहयोग पुग्नेछ !

(दाहाल त्रिचन्द्र क्याम्पसमा कार्यरत उपप्राध्यापक हुन ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!