साउन २८ नेपालनीति : राजन भण्डारी

आज वि.सं २०७६ साउन २८ बिहान ९ बजेदेखि काभ्रेपलाञ्चोक, बनेपास्थित नेरेसोको तालिम केन्द्रमा बस्ने गरी बोलाइएको नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को केन्द्रीय बार्षिक साधारण सभाको कार्यक्रम अकस्मात स्थगित गर्नुपर्दाको परिस्थितिलाई स्पष्ट पार्न नेपाल रेडक्रस सोसाइटीले आज एक पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्यो । सो अवसरमा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले भन्नुभयो ः यो अवस्थाले नेपाल रेडक्रस सोसाइटीको सिँगो परिवार मर्माहित भएको छ ।जिल्ला प्रशासन कार्यालय, काठमाडौँले यस पटक पठाएको निर्देशनात्मक पत्रबमोजिम २४ घण्टा भित्र साधारण सभा स्थगित गरी त्यसको जवाफ पनि पठाइसकिएको छ ।भेटघाट कार्यक्रमको विज्ञप्तिमा भनिएको छ ः संस्था दर्ता ऐनको दफा १२ बमोजिम कारबाही किन नगर्ने भनी पत्रमा उल्लेख भएकोमा हामी अझबढी संवेदनशील भएका छौँ र यस विषयमा हामी सवै पक्षलाई थप स्पष्ट गराउन चाहन्छौँ । र, हामी पारदर्शी छौँ । अहिले फेरी २०७६ साउन २६ गते च.नं १०८ को निर्देशनात्मक पत्र प्राप्त भई संस्थाको बार्षिक बजेट तथा कार्यक्रम,ं रणनीतिहरू र रेडक्रस कानुनको विषयमा छलफल गर्ने गरी आयोजित वार्षिक साधारण सभा रोकिनु पर्ने अवस्था आश्चर्यजनक नै हो । वितेका ५६ वर्षमा ४७ वटा महाधिवेशन निर्वाध रूपमा सम्पन्न भएको हाम्रो इतिहास छ ।पत्रकार भेटघाट कार्यक्रममा नेरेसोका महामन्त्री देवरत्न धाख्वा, कोषाध्यक्ष देवेन्द्र बहादुर प्रधान, उपमहामन्त्री हरि प्रसाद न्यौपाने, रेडक्रसको अन्तर्राष्टिय महासंघका प्रमुख हार्भे लगायत केन्द्रीय कार्यसमितिका सदस्यहरु तथा साधारणसभाको लागि आउनुभएका विभिन्न जिल्ला शाखाका सभापतिहरु र कार्यकारी निर्देशक उमेश ढकाल र सञ्चार निर्देशक दिव्यराज पौडेल लगायतको उपस्थिति रहेको थियो ।नेरेसोका अध्यक्ष थापाले अहिलेको अवस्थाबारे भन्नुभयो ः संस्थाको दीर्घकालीन निकास एवं विकासको निमित्त रेडक्रस कानुन निर्माणको लागि प्रयास भैरहेको छ । ऐनमार्फत् नेपाल रेडक्रसले मान्यता र पहिचान पाउने गरी सरकारमार्फत् संसदमा कानुनको मस्यौदा लैजानको लागि प्रस्ताव पुनः छिटै पेश गरिने छ ।

तपाईंको प्रतिकृयाहरू