काठमाडौ, साउन १२( नेपाल नीति)- शनिबार शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीको आकस्मिक तथा बहिरङ्ग सेवा भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अरु कार्यक्रममा जस्तै रोचक भाषण गरे। देशमा स्वास्थ्य क्षेत्रले फड्को मारेको कुरा मात्रै होइन, आफ्नै स्वास्थ्य अवस्थाको बारेमा पनि बताए। पुराना र रोचक कुरा सम्झाएर बेलाबेला हसाए । प्रधानमन्त्री ओलीले व्यक्त गरेका मन्तव्यको सम्पादित अंश :

हामी एउटा सफलताले ल्याएको खुशीको क्षणमा छौँ । हामी स्वास्थ्य क्षेत्रका, स्वास्थ्य विज्ञानका आदिम रुप धन्वन्तरिदेखि गंगालाल हृदय केन्द्रको नयाँ विशिष्ट सुविधा सम्पन्न आधुनिक कक्ष निर्माणको सफलतासम्म आइपुगेका छौँ । यो नेपालको सफलता हो । नेपालीको सफलता हो । यो सफलता मानव जातिको सफलता हो । किनभने हामी देश विशेषको नागरिकता हेरेर बिरामीको उपचार गर्दैनौँ । मानव जातिको बिरामीको उपचार गर्छौं । नागरिकताको होइन, मानव जातिको उपचार । त्यस कारण यो मानव जातिको यस भेगमा भएको, यस भेगमा प्राप्त सफलता हो ।

म यस सफलताको पछिल्लो घडीमा यतिबेला जसले असाधारण भूमिका खेल्नुभयो, उहाँहरुलाई सफलताको निम्ति विशेष बधाई भन्न चाहन्छु । धन्यवाद भन्न चाहन्छु । यसभन्दा अगाडि यसको इतिहासतिर अलिकति फर्किन चाहन्छु । त्यतिबेला म गृह मन्त्री थिएँ । यो २४/२५ वर्ष अगाडिको कुरा हो । म हाम्रा पुराना शास्त्रहरुमा अलिक रुचि राख्छु । मैले शास्त्रमा पढिआएको थिएँ, पिता जमादग्नीले दिएको आदेश बमोजिम पर्शुरामले आफ्नै आमाको बञ्चरोले काटेर हत्या गरे । तर आमाको शिर छिनाइसकेपछि छोरा पर्शुरामले बुबासँग भने, मैले तपाईंको आज्ञा त माने अब मेरो माग पूरा गरिदिनुपर्‍यो । जो तपाइँले वचन दिनुभएको थियो । उनले भने, मेरी आमालाई फेरि जस्ताको तस्तै ब्युँझाइदिनुस् । अनि जमादग्नीले अपरेसन गरेर आफ्नी पत्नी रेणुकालाई ब्युँझाइदिए जस्ताको तस्तै । लक्ष्मण लंकामा घाइते भए, बेहोस भए, कोमामा गए । औषधिको थलो भनेको त फेरि हिमालय पर्वत नै थियो । औषधि उत्पन्न हुन्छ हिमालयमा । जाऊ हिमालयमा गएर औषधि लिएर आऊ भनेर हनुमानलाई भनियो । उनले औषधि बोकेर गए र लक्ष्मण ब्युँझिए ।

धन्वन्तरिदेखि ऋषि पतञ्जली अझ अगाडि ऋषि चरक । यस्ता ऋषिहरुले धन्वन्तरिको परम्परालाई अगाडि बढाएका थिए । यो यहीँ ठाउँ हो जहाँ जडीबुटी पनि उत्पन्न हुन्छ र अर्गान ट्रान्सप्लान्टेसन त्यो तहसम्मका त्यस बेलाका सर्जनहरु पनि यहीँ थिए । शनिको नजर पर्नेबित्तिकै पार्वतीका छोराको शिर गायब भयो, आपतपर्‍यो । त्यस पछि छेउमा जे भेटिन्छ त्यसको टाउको लेऊ भनियो । हात्तिको टाउको ल्याएर जोडे । म्याचिङको प्रोब्लेम पनि हल गरेका रहेछन् त्यतिबेलासम्म । अहिले अब बल्ल हामी म्याचिङ गराउने त्यो प्रविधितर्फ उक्लिदै छौँ ।

जरासन्ध छुट्टिएको अवस्थामा जन्मिएका थिए । तिनलाई अपरेसन गरेर एउटै बनाइएको थियो जोडेर । यस्ता अनेक प्रसंग हाम्रा शास्त्रमा आउँथे । औषधि आउँथे र मैले सानोदेखि देखेको थिएँ, मेरो हजुरआमा अरु त मलाई थाहा थिएन, सात किलोमिटर परको बजार एक्लै जानुहुन्थ्यो, एक्लै फर्कनु हुन्थ्यो हिँडेर । र बिरामी नभई दीर्घजीवन बिताएर बित्नु भयो सुतेकै ठाउँमा । उहाँले इन्जेक्सन लिनु हुन्नथ्यो, ट्याबलेट खानु हुन्नथ्यो । खलले समस्याको हल गर्दथ्यो । उहाँसँग औषधिको एउटा सानो खल थियो । एउटा सानो लोहोरो थियो । त्यसैले समस्याको समाधान गर्दथ्यो । त्यो पनि मैले देखेको थिएँ । उहाँको न ब्लड प्रेसर, न सुगर, न हार्ट डिजिज केही पनि थिएन । मकै भटमास चपाउनुहुन्थ्यो ।

म ६७ वर्ष पूरा हुन लागें । हिजो बेलुका मेरो दाहिने पट्टिको बुद्धि बंगारो आफैँ खुस्कियो । तर १०१ वर्षमा मेरो हजुर आमा भुटेको मकै भटमास चपाउनुहुन्थ्यो । संयोग कस्तो परेछ, हिजो बेलुका मात्रै मेरो दाहिने पट्टिको माथिल्लो पट्टिको बुद्धि बंगारो छामी हेरें जरा पनि छैन । रगत पनि आएन, कति अशक्त भएको रहेछ । हाम्रो भूगोल औषधि उम्रिने, जन्मिने भूगोल हो । जराबाट बन्ने औषधिलाई जडी, माथि उम्रिएको बिरुवा, पात, फलफूल, त्रिफला, चूर्ण आदि इत्यादी बुटीभित्र पर्छन । जराबाट बन्ने जडी, माथि उम्रिएका बुटी त्यही भएर जडिबुटी भयो । त्यसको प्रशोधन गर्ने ठाउँ राखेर त्यसको नाम जडीबुटी भएको छ । यो यस्तो ठाउँ हो जहाँ जरा पनि औषधि, बोक्रा पनि औषधि, पात पनि औषधि हुन्छ ।

मैले यो प्रसंग किन भनेको हो भने म गृहमन्त्री भएको बेला, त्यसभन्दा अगाडि, अलिक अगाडिसम्म यस ठाउँमा छालाजुत्ता कारखाना थियो । छालाजुत्ता बाँसबारीको सस्तो हुने भएकोले लगाउन मन पराउँथ धेरै मानिस । सस्तो पाइन्थ्यो, दुई रुपैयाँ, तीन रुपैयाँ, अढाई रुपैयाँमा छाला जुत्ता राम्रो लगाउन पाइन्थ्यो । म पनि दुई–अढाई रुपैयाँमा जुत्ता किनेर लगाउँथे बाँसबारी छालाजुत्ता कारखानाको । धेरै महंगो किन्यो भने पनि चार÷पाँच रुपैयाँ पर्दथ्यो । मैले लगाउने चाहिँ दुई, अढाई, तीन रुपैयाँका थिए ।

उद्योगहरुमा मेरो विश्लेषणमा एउटा उल्का आइराखेको थियो–उद्योग मास्दै जाने । म वेचैन थिएँ, उद्योग मासिँदैछन् अरु थोेक केही हुँदै छैन । त्यस अवस्थामा एक दिन डाक्टर अरुण सायमीले मनमोहनजी र हामी भएका ठाउँमा मुटु अस्पताल खोल्नुपर्‍यो भन्नु भयो । होचो सिलिङ भएदेखि मेरो टाउको ठोकिन्थ्यो होला, म खुसीले त्यति उफ्रिएँ । एउटा नयाँ काम हुने भयो । त्यति खुशी छाएको थियो । साँच्चै नेपालमा हामी हृदयरोग निको पार्ने काम गछौं त ? सक्छौँ ?

हाम्रोमा साधारणतया गाउँघरमा मुुटु रोग लाग्दैन । शिकारी लाग्छ । शिकारीले वाण हान्छ । कहिले कहिले धामी, झाँक्रीले रिसायो भने वाण हान्छन् । खुशी भयो भने वाण तर्काउँछन् । निको भयो भने वाण तर्कायो नत्र भने वाण भित्रैसम्म गडिसकेको रहेछ गयो । शिकारीले वाण हान्थ्यो, अचानक मान्छे फेन्ट हुन्थ्यो । ऐया भनिसक्दा पुक्लुक्क हुन्थ्यो । शिकारी लाग्थ्यो, हार्ट याट्याक हुँदैनथ्यो, ब्रेन ह्यामरेज हुँदैनथ्यो । डा. सायमिको कुरा सुनेपछि मनमा प्रश्न उठेको थियो, यो मुटुको शिकारी लाग्न छोड्छ त नेपालमा ? शिकारी युग अन्त्य हुन्छ ? हामी विज्ञानको युगमा प्रवेश गर्छौं ? शिकारीको युगबाट मुटुमा रोग लाग्छ र त्यसको उपचार हुन सक्छ भन्ने युगमा प्रवेश गर्छौं ? त्यसमा चिन्ता थियो । त्यस पछि मैले जानेका डक्टरहरु, अरुण सायमीले त्यसमा कुरा चलाउनुभयो, डाक्टर भगवान् कोइरालाले उत्साह देखाउनु भयो त्यसमा । अगाडि बढाउनुस् सरकारले समर्थन गर्छ । ठाउँ कहाँ गर्ने ? बाँसबारी छालाजुत्ता कारखानाको ठाउँ खाली भएको छ । सबै दिने कि आधा दिने ? अलिकति दिने की पूरै दिने ? दिने की नदिने ? अस्पताल भनेको स्वाथ्य चौकीभन्दा माथि देखेको वीर हस्पिटल, अञ्चल अस्पतालसम्मका कुरा थिए त्यस बेला । त्यो अञ्चल अस्पतालभन्दा माथि नदेखेकोले बाँसवारी छालाजुत्ता कारखानाको सम्पूर्ण एरिया एउटा मुुटु अस्पताललाई दिनु भनेको वेस्ट अफ ल्याण्ड हो, त्यो पर्र्दैन भन्ने जस्तो । कति प्राप्त गर्नुभयो, आधा प्राप्त गर्नु भयो की पूरा ? जेहोस् त्यो बहस अलिकति चलेको थियो ।

आज मैले सुने १७ हजार ओपन हार्ट सर्जरी भइसकेको छ यहाँ । लाखौंले उपचार पाएका छन् । अब आजदेखि इमरजेन्सी वार्डको विस्तार भएको छ । ३४ बेडको इमरजेन्सी वार्ड भएको छ । पहिले यो वार्ड सानो थियो । अब हामीसँग नयाँ–नयाँ प्रविधिहरु छन । आँखाको अप्रेशन गर्नपर्‍यो भनेपछि मान्छेहरु थर्कमान हुन्थ्ये । आँखाको अप्रेशन गर्र्ने भनेपछि कहाँ सुइ घोच्ने, के गर्ने यति बाक्लो कालो चस्मा लगाएर हिडन् पर्ने अनेक–अनेक थियो । मैले इम्युनोसप्रेस्यान्ट औषधिहरु खानु पर्छ र खाने गर्छु । शरीरको इम्योन प्रणालीको सप्रेसनले क्याट¥याक्ट हुँदो रहेछ, फूलो पार्दो रहेछ । दुईओटै आँखामा एकैचोटी फूलोपर्‍यो । अगाडि को बसेको छ भनेर देख्ने, तर नचिनिने । यसो आकृति जस्तो मात्र देखिन्छ, मान्छे चिनिदैन । त्यस्तो हालत भयो । कागज हेर्दा मैले अक्षर नदेख्ने मात्रै होइन की यहाँ कालो छ भन्ने पनि नदेख्ने सेतो मात्र देख्ने । यस्तो स्थिति भयो, अपरेसन त गर्नैपर्‍यो । अपरेसन गर्दा सुई घोच्छन् की भन्ने पनि थियो । सुई पनि घोचेनन्, यसो ड्रप्स राखी दिएर १० मिनेट एकछिन पर्खनुस् भने । लगेर बेडमा सुताए । यो बत्तिमा हेर्नुस है भने । सात मिनेटपछि फेरि थोपा हाल्यो, विस्तारै आँखा खुल्दै जान्छ भन्यो । दुईचार मिनेटपछि छंग देखें, छक्क लाग्यो । अपरेसन यति सजिलो रहेछ ।

हाम्रा धर्म शास्त्रहरुमा अन्धविश्वास मात्रै पस्किइएको छै्रन । दैवी इच्छा भनेर मात्रै पस्किइएको छैन । भगवान्को लिला भनेर मात्रै पस्किइएको छैन । त्यसै कारण भगवानको इच्छा अनुसार जरासन्ध दुईओटा जन्मिएको थियो । अपरेसनपछि एउटै भयो । भगवानका इच्छा अनेक हुँदा रहेछन् । त्यसलाई फेरि विज्ञान–प्रविधिले आफ्नो ठाउँमा ल्याउन सक्ने रहेछौं । आज विज्ञान–प्रविधिको विकास, स्वास्थ्य क्षेत्रमा जस्तो भएको छ, अब आर्टिफिसियल अर्गानहरु । तिनीले काम गर्ने । नसा ब्लक भयो, खोलिदिने । एन्जियोग्राम, एन्जियोग्राफीदेखि लिएर अहिले त्यसका लागि खोलिरहनु पर्दैन । पहिले चिरेर अनि त्यो खोल्न पर्दथ्यो । अहिले नसाबाट सुई दिए झैं सूरर पठाइदिने एउटा पाइप र त्यहाँ खोलिदिने । तत्काल खोलेर फेरि खुम्चिन सक्छ भने खुम्चिन नदिने अर्को प्लास्टिक राख्दिने पाइप लगेर राखिदिने । न त्यो पाइप खुम्चिन्छ, न त्यो नसा खुम्चिन पाउँछ । अर्थाथ मुटु, मस्तिष्कको अपरेसन । दुई वटा टाउका भएका गंगा–जमुना एउटा भए । यद्यपि उनीहरुको जीवनको लंगभिटी धेरै भएन होला प्रयोगात्मक स्थितिमा । किड्नी ट्रान्सप्लान्टेसनको हिस्ट्रि १९०२ बाट सुरु भएपनि यथार्थमा १९५३ बाट त्यसको वास्तविक ट्रान्सप्लानटेशनका प्रयासहरु अगाडि बढे । १९७० सम्म अर्थात करिव सत्तरी वर्षभित्रै ट्रान्सप्लान्टेशनको स्थिति यति डेभलप्ड भयो । १९७० भन्दापछि ट्रान्सप्लान्ट गरेका मान्छे अहिलेसम्म जीवित छन् । १२ वर्ष अगाडि ट्रान्सप्लान्ट गरेको म फर्म द भेरी विगेनिङ नर्मल लाइफ व्यतित गरिरहेको छु । अहिलेसम्म सामान्य जीवन बिताइराखेको छु ।

मेडिकल सेक्टरमा हामी आफैँले पनि काफी प्रगति हासिल गरेका छौँ । चार÷पाँच दिन अगाडि म तिलगंगा आँखा अस्पतालमा गएको थिएँ । त्यहाँको प्रगति देख्दा निकै खुशी लाग्यो । उहाँहरुले विश्व स्वास्थ्य संगठन, डब्लुएचओको एउटा सहयोगीको हैसियत, सहकार्य गर्ने संस्थाको हैसियत प्राप्त गर्नु भएको छ । यस्ता विश्वका ८ ओटा संस्थामध्ये तिलगंगाले मान्यता प्राप्त गरेको छ । यो सानो कुरा होइन । नेपालले बनाएका लेन्सहरु विश्वव्यापी रुपमा वितरण भएका छन् । अहिले ५० लाख लेन्स वितरण भएका छन र दुनियाँका अनेक हस्पिटलले नेपालले तयार गरेका लेन्सहरुको प्रयोग गरिराखेका छन् ।

हामीले काभ्रेमा भ्याक्सिनका लागि भाइरसहरुको संकलन गरेका छौं, तिनको बैंक तयार गरेका छौं । जसबाट हामी विभिन्न किसिमका खोप दिन सक्दछौं, भाइरसको संकलन गरेर खोप दिन सक्दछौं । यस्ता अनेक उच्चस्तरीय प्रयोग, परीक्षण नेपालमा भएका छन् । जसमध्ये गंगालाल हृदय केन्द्र, सफलताको इतिहास बनाउँदैछ । यसको स्थापनाका २४ वर्षहरुमा मेडिकल सेक्टरमा सफलताको इतिहास उल्लेख गर्दा गंगालाल हृदय केन्द्रलाई स्मरण गर्नुपर्दछ ।

यसले गरेको प्रगति, यसले पुर्‍याएको सेवा दुईवटै पक्ष छन् । यसले पु¥याएको सेवा असाधारण छ । मलाई लाग्छ यहीँ पनि हुनु हुन्छ होला सायद यसले पु¥याएको सेवाबाट लाभ लिएर जीवित भइरहेका साथीहरु । नभए देशभरी हुनुहुन्छ । यसले आफुलाई एउटा मोवाइल हस्पिटलको रुपमा पनि विभिन्न ठाउँहरुमा गएर सर्भिसहरु उपलब्ध गराएको छ । यसै हस्पिटलमा बहुत धेरै सेवाहरु उपलब्ध भइरहेका छन । यसबाट उत्पादित अनुभवी डक्टरहरु, यसबाट प्रशिक्षित स्वास्थ्यकर्मीहरु, नर्सहरुले विभिन्न ठाउँमा गएर पनि महत्वपूर्ण सेवा पुर्‍याउनु भएको छ । त्यसकारण म यस सफलताको उच्च प्रसंशा गर्न चाहन्छु । यस्ता सफलताका कथाहरु अरु पनि हाम्रा स्वास्थ्य संस्थाहरुले हासिल गर्न सकनु र यो भूमि र हाम्रा पूर्खाहरुको स्वास्थ्य विज्ञान क्षेत्रको गौरव, गौरवपूर्ण इतिहास । फेरि पुनःप्राप्ति र उचाइमा पुर्‍याउन सकौं ।

हाम्रा दार्शनिक पुर्खाहरुले जुन दर्शनको प्रतिपादन गरे, त्यसले विकासको ढोका खोल्यो । जस्तो सांख्य दर्शन । सांख्य दर्शनको अनुयायीको रुपमा कपिल मुनीले योग र सांख्यको विकास गरे । दर्शनको पनि विकास गरे, योगको पनि विकास गरे । हाम्रा अर्घाखाँचीका गुरु पतञ्जली सायद ११ सय वर्ष अगाडि योगको विकास गरे–स्वाथ्यका निम्ति योग । खाली शारीरिक मात्रै होइन अक्सिजनसँग सम्बन्धित, प्राणसँग सम्बन्धित, फोक्सोसँग सम्बन्धित, फोक्सोले शरीरका विभिन्न भागमा पुर्‍याउने अक्सिजनसँग सम्बन्धित र मस्तिष्कमा अक्सिजनको महत्वका सम्बन्धमा । यो बढी स्पस्ट ढंगले हाम्रा अर्घाखाँचीका गुरुजी पतञ्जलीले विकास गरे । ध्यान–ध्यानबाट स्वास्थ्यमा लाभ, ध्यानबाट मस्तिष्क, मस्तिष्को एकाग्रता बुद्धले विकास गरे २६ सय वर्ष अगाडि । तसर्थः द्वापर युगमा कृष्णका मुखबाट गीताको रुपमा गुरुहरुले बताएका छन् योगको महत्वको बारेमा । योगको स्वास्थ्य र जीवनसँग सम्बन्धको बारेमा । दर्शनको बारेमा, सांख्यको बारेमा । अन्धविश्वास होइन, त्यसभन्दा माथि उठेर प्रयोगमा विश्वास गरे । जसबाट औषधि विज्ञानको बाटो विकास गर्न सक्यो । अन्धविश्वासमा परेर अब भगवानको इच्छा हो बाँचिने भए बाँचिन्छ भन्ने हो भने औषधि विज्ञानको विकास हँुदैन । अपरेशनको अर्थ हुदैन । इन्जेक्सन र अनेकको अर्थ रहँदैन । हामीले निदान अथवा डाइग्नोसिस गरिरहनु पर्ने अर्थ रहँदैन । यसको अर्थ प्रयोगात्मक विज्ञानसँग सम्बन्धित छ । त्यो विज्ञान प्रयोगात्मक दर्शनबाट निस्किन्छ ।

हाम्रा पुर्खाहरुले सबैभन्दा पहिले यस्तो दर्शनको विकास गरे । जुन दर्शनबाट प्रयोगको विकास भयो । बुद्ध आफै भन्छन् मेरो वाणीमा पनि विश्वास नगर । प्रयोग गरेर हेर, परीक्षण गरेर हेर । परीक्षणबाट मेरो वाणी सही भयो भने मात्रै अगाडि बढ् । त्यसकारण बुद्धको एउटा शाखामा पनि औषधि विज्ञान छ । बुद्धिज्मको एउटा ब्राञ्च, एउटा शाखा–औषधि । त्यस कारण बुद्धको एउटा तस्वीर हेर्नु भयो भने, एउटा शालिक हेर्नु भयो भने त्यहाँ केही पातहरु समातेको देखिन्छ । अथवा जडिबुटी, औषधि विज्ञान । यसरी हाम्रो गौरवपूर्ण परम्परा थियो इतिहासको । त्यो गौरवपूर्ण इतिहास समयक्रममा अनेक कारणले ओइलायो । तर आज हामी खुशी छौँ की हाम्रो पिंढीले, हाम्रो पुस्ताले त्यसको पुनःजीवन, फेरि पुनःप्राप्ति र पुर्नउत्थान गरेको छ ।

म धेरै ठाउँहरुमा भन्ने गर्छु, पुर्नउत्थान । त्यसको अर्थ हुन्छ जसको पहिले उत्थान थियो, बीचमा हराएको थियो, फेरि उठ्नु पर्छ । त्यस कारण पुर्नउत्थान हाम्रोमा जरुरी छ । जहाँ उत्थान हँुदैछ, त्यहाँ पुर्नउत्थान होइन–उत्थान । कतिपय देशहरुले उत्थान गरे । हामीसँग अब मैले डक्टरहरुको स्पीडमा ह्वाट्स द इम्र्पोटेन्ट अफ द जेनेटिक मेमोरी भनेर भनिरहन पर्दैन होला । कार्वन इलिमेन्टले खाली मान्छेको पूर्वजको शक्लसुरत, रंग, आनिबानी मात्रै उतार्ने होइन । मस्तिष्क पनि उतारेर ल्याएको हुन्छ । त्यस कारण हाम्रा सन्ततिले अवसर पाउने बित्तिकै हाम्रा ती महान धन्वन्तरिदेखि लिएर, औषधि विज्ञानका प्रणेतादेखि लिएर, प्रयोगकर्तादेखि लिएर ती सबैको ज्ञान प्रस्तुत गर्न सक्दछन् । कतिपयमा साहित्यका कल्पनाहरु मिसिएका होलान । कथानकता भरिएको होला । तर त्यो कल्पना असम्भव कल्पना मात्रै थिएन ।

पुष्पक विमान, पुष्पको विमान परापूर्वकालमा कल्पना गरिएको थियो । अनौठो लाग्छ–पुष्पक विमान लिएर रामलाई लिन लंका गइयो, एयरर्पोट बनाइएको थिएन । पुष्पक विमान हेलिकप्टर झैँ ल्याण्ड गर्दथ्यो र हेलिकप्टर झँै टेक अफ गर्दथ्यो । त्यो एयरर्पोटको चाहिँ कही वर्णन पाइँदैन । तर जान्थ्यो । कथा सही । तर हाम्रा पूर्खाहरुले कति टाढा देख्दा रहेछन् भने अहिले पानी जहाज माथि नै रनवे र टेक अफ, यति छोटो रनवेमा ल्याण्डिङ टेक अफ गरिएको देखिन्छ । त्यस्तो त बनेकै छ नि । तसर्थः हाम्रा पुर्खाहरुको दृष्टि असाधारण थियो ।

मैले अक्सर भन्ने गर्छु हामी अनाहक पछाडि पारिएका छौं । मैले धेरै ठाउँमा बोल्दा भन्ने गरेको छु, ग्य्राविटेसनको थ्योरी आचार्य भास्कर अथवा भास्कारचार्यले पत्ता लगाउनु भएको थियो र ११५० मा प्रकाशित उहाँको सिद्धान्त शिरोमणी भन्ने पुस्तकमा बहुत राम्ररी व्याख्या गरिएको छ, ह्वाट इज ग्राभिटेशन ? पृथ्वी गोलो छ । किन सम्मजस्तो देखिन्छ ? यसको गोलाई कति छ ? यसको व्यासको पनि उनले मेजरमेन्ट दिएका छन् गणितबाट । त्यो मेजरमेन्ट साइन्सले २० मिटर फरकपर्‍यो भनेको छ । धुले पाटीमा धुलो हाल्दै मेट्दै, सिमलीको डाक्लाले लेख्दै, फेरि मेट्दै गरेर नापेको आज गूगोलबाट नापेको भन्दा २० मिटर फरकपर्‍यो भनिराखेका छन् मानिसहरु । त्यो २० मिटर साइन्सले सच्याउनु पर्छ भन्ने मलाई लाग्छ । भास्करचार्य वाज करेक्ट ।

नवग्रह छन् भनेर गणितले हजारौं वर्ष अगाडि भन्यो । साइन्सले मानेन । हाम्रा क्यामेराहरुले नव ग्रह समातेनन्, यो होइन भन्यो । क्यामेराहरु डेभलप हुँदै गए । ७ ग्रहबाट ८ ग्रह समातियो भन्यो । आठ चाहिँ एकदम पक्कै हो । त्यो भन्दा बढी होइन, किनभने हाम्रा क्यामेराले समातेन । साइन्स आफैँमा सत्य हो । क्यामेराले समातेपछि मात्रै मान्छ । उसका क्यामेराले समातेको आठ ग्रह ठिक थियो । आठ वटै समातेका हुन, तर क्यामेरा कमजोर थियो । गणित कमजोर थिएन । गणितले नव ग्रह छन् भनेर हजारौं वर्ष अगाडि भन्यो । कन्फ्युजन त्यसमा पनि थियो, ग्रहहरु कुन–कुन हुन र उपग्रह कुन हुन ? नक्षत्र कुन हुन् ? त्यसमा केही डिस्ट्यान्सको हिसाबले नजिक भएकालाई ग्रह भनियो, टाढा भएकालाई नक्षत्र त भन्यो तर ग्रहहरुका नामहरुमा वा जस्तो चन्द्रमा उपग्रह थियो तर ग्रह हो भन्ने भ्रमपर्‍यो । तर, चन्द्रमाको बारेमा त्यसको गति, त्यसको अवस्थिति, त्यसको डिस्ट्यान्स हाम्रा पुर्खाहरुले पत्ता लगाएका थिए र ज्वारभाटा कहिले जान्छ ? के हुन्छ ? सबै भनेको थिए ।

मैले धेरै ठाउँमा भनेको छु, त्यसै कारण एसियाका मान्छेहरुले प्रशान्त महासागर डुँगामा तरेरे ज्वारभाटा आदि इत्यादीको अवस्थितिको बारेमा जानकारी दिने आँट गरे । ज्योतिषको, गणितको यी सबै विधाको हाम्रा पुर्खाहरुले अनेक पक्षमा विकास गरेका थिए । हाम्रो स्वास्थ्य विज्ञानको क्षेत्रमा यस भूभागमा मात्रै विकास थियो हजारौं वर्ष अगाडि । तीन हजार, चार हजार वर्ष अगाडि स्वास्थ्य विज्ञान यहाँ मात्र थियो । र आदिगुरु धन्वन्तरिले स्वास्थ्य विज्ञानको सुरुवात गरेका प्रसंग पाइन्छ । त्यसपछि अरु ऋषिहरुले अनेक प्रयोग गरे । र त्यसका रस, स्वाद, गुण यी अनेक । स्वाद एउटा छ तर त्यसको गुण अर्कै हुन्छ र त्यसको पाक अर्को हुन्छ । सिंहदरवार वैद्यखाना अथवा नरदेवी आयुर्वेद अस्पताल, त्यतापट्टिका प्रोफेसर साबहरु, गुरुहरु हुनुहुन्छ भने उहाँहरुलाई थाहा हुन्छ रस, स्वाद, गुण, पाक । यो सर्जिकल भित्र पर्दैन । तर उहाँहरुलाई थाहा हुन्छ ।

हाम्रो युग, भूभाग, हाम्रा पूर्खा असाधारण खोज, अध्ययन, अनुसन्धानका प्रतिमूर्ती थिए । उनीहरुले असाधारण उपलब्धि हासिल गरेका थिए । त्यसबाट आज हामी बीचमा अलिकति लुप्त भयौं । त्यस्तो कसरी भयो भने ज्ञानलाई गुप्त राख्नु पर्छ भन्ने गलत मान्यता छ यो समाजमा । गायत्री मन्त्र पनि सुन्न पाइदैन, सुनाउनु हुदैन भन्ने । मलाई पनि ८ वर्षमा ब्रतबन्ध गरेको कानमा खासखुस के भनियो थाहा भएन, बुझिन, सुनिन भन्न पनि अफ्ठयारो । भोलिपल्ट मैले मेरो बुवालाई भने, यो के सुनाए पण्डितले त्यो एक शब्द पनि बुझिएन र खासखुस खासखुस गरिएको मात्र सुनियो । अनि बुवाले मलाई लेखिदिनु भयो, लेखिदिए पछि मैले पढें । तर मलाई के बताइयो भने कसैलाई भन्नु हुदैन । कसैलाई सुनाउनु हुदैन । मैले पढदा पनि साह्रो पढिन, बिस्तारै पढें किनभने अरुले सुन्लान भन्ने डर भयो । मलाई जनै भिराइएको थियो । मैले जनै घुसार्दै मन्त्र पढें, ऊँ भूर्भुवः स्वः ।। तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि । धियो यो नः प्रचोदयात ।।

यतिभन्दा ओठ मात्र चलायो भन्थे । मैले कण्ठ त बेस्सरी गरिसकेको थिएँ । तर अरुलाई सुनाउनु हुँदैनथ्यो । म अलि ठिटो–ठिटो थिएँ, अलि किताबहरु पढन लागेको किताव मेरो ठाँउमा नपाइने । म तराई झरेको थिएँ, अनि खल्तिमा थोरै पैसा थियो, म बनारस गएँ । बनारस जाँदाखेरि त्यहाँ माइक लगाएर बजाइँदैछ, ऊँ भूर्भुवः स्वः ।। तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि । धियो यो नः प्रचोदयात ।।

माइकबाट भनिरहेका छन्, म छक्क परें यहाँका बाहुन बौलाएकी के हो ? भन्नै नहुने मन्त्र माइकबाट भनेका छ । के मेरा ठाँउका गुरु पछाडि परेका या ब्याकवाड एलिमेन्ट हुन् । कि मेरा ठाँउका गुरु बेठिक कि यहाँका गुरु बेठिक के हो ? बनारस त फेरि शास्त्रहरुको एउटा ठेक्का लिएको ठेकेदारकै अखडा रहेछ । भनेपछि भन्नु नहुने कुरा त रहेनछ् । औषधि विज्ञानमा पनि त्यस्तै भयो जानेको औषधि अर्कालाई बताउनु हुदैन, बताउनु हुँदैनको अर्थ अर्को के रहेछ भने विद्वतामा श्रेष्ठ आफूलाई देखाउनुपर्‍यो ।

त्यति मन्त्र भन्दिँदा के हुन्थ्यो ? कसले जानेर के बिग्रिन्थ्यो ? त्यसलाई नेपालीमा अनुवाद गर्दिएको भए के हुन्थ्यो ? हे सूर्य भगवान तिमीले संसारको सिर्जना गरेका छौ । उज्यालो भरेका छौ । जीवन दिएका छौ । मलाई पनि जीवन देऊ र उज्यालो तिर लैजाऊ । त्यो मन्त्रमा त त्यही भनेको रहेछ । त्यस्तो राम्रो कुरो भनेको रहेछ । यति वैज्ञानिक कुरो भनेको रहेछ किन लुकाउनु पर्दथ्यो ।

यो औषधि, यो जडीबुटी यसमा काम लाग्छ, यसमा निको पार्छ भन्ने कुरा मानव जातिको कल्याण हुन्थ्यो । त्यो आम्दानीको मेलो एउटा अर्को सुपेरेयोरिटी देखाउने कुराहरु रहेछन । यसो गर्दा हामी पछाडि प¥यौं । अब हामीले पुनःउत्थानका काम शुरु गरेका छौँ । शरीर विज्ञानमा टाउको पनि फलक्कै निकालको छ । एकछिन गिदी बाहिर राखेर उपचार गरेको छ, ठिक भएपछि फेरि राखेर ठिकठाक गरेको छ । मुटको त्यसैगरी उपचार गरेको छ । मेरो पनि किड््नी फेल भयो । किड्नी फेरेर उपचार गराएकोछु, काम गरेको छ । यो ठाँउमा हामी पुगेका छौ । अब हामीले यतिमा सन्तोष गर्ने होइन, अगाडि वढनुपर्छ, अगाडि बढ्छौ । हाम्रा शास्त्रहरुमा भनिएझैं काटेर भुईमा खसेका हात टिपेर अस्पताल लगेर जोडेका छौ । त्यो त नेपालमै भएको छ नि, नारायण गोपाल चोकमा काटेर भुँइमा खसेको हात अर्को हातले समातेर कुदेर हस्पिटल गएर जोडेर यहीँ टिचिङ हस्पिटलमा बनाएको छ ।

सन् १९९७ मा चीनको एउटा अस्पतालले टुक्रिएको खुट्टोलाई जोड्यो भन्ने अखवारमा आयो । अचम्म लाग्यो एउटा महिलाको खुट्टो थिएन, अर्को महिलाको खुट्टो दुर्घटनामा छिनेछ र उनको मृत्यु पनि भयो । तर, खुट्टो थिएन उनको दाइने, खुट्टो प्राप्त भयो देब्रे । दाईने खुट्टाका ठाँउमा देब्रे राखेर दुईवटै देब्रे देब्रे खुट्टा भएको अपरेसन पनि राम्रै चलेको पनि देखियो । यी सबै मैले आफ्नै जीवनमा रुचिसाथ हेर्दा हेर्दै स्वास्थ्य उपचार गराइरहेको छु । अनि म स्वास्थ्य त्यति राम्रो नभएर नआउने भएर सुतिराखेको थिएँ । आउनु न त भनी अलि जोड गरेपछि उठेर आएको थिएँ, अलि बोल्दै जाँदा लामो भएपछि यो नक्कली बिरामी हो कि क्या हो भन्ने पर्‍यो होला, नक्कली विरामी होइन, अस्थायी बिरामी चाहिँ हो ।

तपाईंको प्रतिकृयाहरू