धनुषा, जेठ २०(नेपाल नीति )- प्रदेश २ सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। धेरै जस्तो गएकै वर्षको नीति तथा कार्यक्रम लाई निरन्तरता दिइए पनि यो वर्ष केही लोकप्रिय नारा सहितको कार्यक्रम समाबेश गरिएको छ।

पिछडिएको वर्गलाई रासन कार्ड वितरण गर्ने, ५ लाख सम्मको स्वास्थ्य बिमा गर्ने, उच्च शिक्षा अध्ययनमा निम्न वर्गका समुदायका विद्यार्थीलाई बस्ने खानेको प्रबन्ध गरिदिने, कृषि अनुसन्धान केन्द्रको स्थापना गर्ने, फलफूल, माछापालन, तरकारी खेती लगायतमा बिमाको व्यवस्था गर्ने कार्यक्रम प्रदेश सरकारले ल्याएको छ। यसैगरी किसानको हौसला बढाउनको लागि प्रत्येक वर्ष एक दिन धान तथा ओरहा दिवस मनाउने समेत प्रदेश सरकारको नीतिमा समावेश छ।

प्रदेश भित्रको छोटी भन्सार प्रदेश सरकारको मातहत ल्याउन पहल गर्ने, बन्द अवस्थामा रहेको कलकारखाना संचालनमा ल्याउन पहल गर्ने उसको नीति रहेको छ।

युवा वर्गलाई बिदेशीन नदिन स्थानीय स्तरमै साना तथा मझौला उद्योगमा जोड दिने, निशुल्क प्राविधिक तालिम उपलब्ध गराउने र व्यवसायको लागि बैंकबाट २५ प्रतिशत अनुदान दिने पनि कार्यक्रम रहेको छ ।

यस्तै परम्परागत खेलहरु कुस्ती, कबड्डी, टीका ठाडी, गुल्ली डण्डा, हुरा, लुकिछिपी जस्ता खेलको प्रवर्द्धनमा गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश छ।

प्रदेशलाई सक्षम बनाउन कृषि, स्वास्थ्य, शिक्षा, सडक , उद्योग, बन एवं पर्यटन को विकासमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

तपाईंको प्रतिकृयाहरू