मेघा शाही

हामाी २१ औँ शताब्दीमा छौ जहाँ अधिकारहरुको कुरा गर्दा सबै समान सबैलाई पूृर्ण अधिकारको कुरा हुन्छ । नेपालकै सन्दर्भमा पनि सबैलाई समान अधिकार समान अवसर प्रदान गरिएको दशकौँ बितिसकेको छ । तर के साँच्चै ती अधिकार अवसर समान रुपमा प्रत्याभूत भएका छन् ? अवसरका सार्थकताले लक्षित वर्गहरु घनिभूत भएका छन् त ? अहं, नतिजा धमिलो छ । अझ झन् आधा आकास ढाकिएका जुनसुकै जातजातिका, बर्णका वा समुदायका होस् महिलालाई सधैँ दयाको पात्रको रुपमा उभ्याइएको छ । अनि फेरि हामी उत्तर आधुनिक अधिकारहरुले सुसज्जित २१ औँ शताब्दिका नारी, स्वतन्त्र छौँ हरेक निर्णयको लागि हरेक समृद्धिको लागि हरेक विकासको लागि………………..कसरी ? प्रश्न गहन अनि हास्यास्पद दुवै छ ।

अझ नेपाल जस्तो देश महिलाको उपस्थिति केवल संख्याका लागि अर्थविनाको सहभागिताको लागि मात्र हुने गरेको तितो यथार्थ सर्वविदित छ ।

महिलाका नाममा विभिन्न दिवस छन्, उत्सव छन् , उत्थानका कार्यक्रमहरु, योजना, छलफल सबै छन्, देशमा महिलाको लागि भनेर कानून निर्माण नभएका पनि होइनन् तर अवसर कार्यन्वयन सधैँ अर्थहीन । नीतिगत तह तप्कामा ओजपूर्ण उपस्थिति खोइ त ? यदाकदाका उदाहरण बाहेक महिलालाई प्राप्त कार्यकारी भुमिका खोइ ? न त प्रशासनिक क्षेत्रमा न त राजनीतिक क्षेत्रमा । राजनीति त राज्यको नीति, नीतिहरुको पनि नीति भएको अर्थमा सहभागिता अवसर पद जिम्मेवारी त्यसमा शुरु हुनुपर्ने हो जसले समाज परिवर्तनको वास्तविक चित्र प्रविबिम्बित गर्न सक्छ तर राजनीतिमा महिलाका सवालहरु विरलै उठ्छन् । अझ नेपाल जस्तो देश महिलाको उपस्थिति केवल संख्याका लागि अर्थविनाको सहभागिताको लागि मात्र हुने गरेको तितो यथार्थ सर्वविदित छ । प्रशासनिक क्षेत्रमा उपथित हुने महिलाको संख्या पनि तुलानात्मक रुपले न्यून रहेको र निर्णायक तहमा शून्यको बराबर रहेको तथ्यांक पनि उपलब्ध छन् । के महिला बौद्धिक नभएर वा क्षमतावान नभएर यो अवस्था सिर्जना भएका हुन् त ? जब हरेक तहमा क्षेत्रमा महिला अनिवार्य गरेको मूल कानून रहेको देशमा यसरी अर्थपूर्ण उपस्थितिको लागि याचना गर्नुपर्दैंछ भने देशले चाहेको समृद्धिको परिणाम कसरी सकरात्मक ल्याउन सकिएला त ?

हरेक बर्ष महिला दिवस आउँछ अनि एउटा प्रश्न छाडेर जान्छ की दिवसमा मात्र सिमित कहिलेसम्म ? के अधिकारको लागि अनन्त कालसम्म नारा घन्काउने ? आखिर चर्का भाषण कहिलेसम्म ? हो यस्तै यस्तै प्रश्नको उत्तर हो महिला नेतृत्वको आवश्यकता । सबै क्षेत्रकका महिला जबसम्म अधिकार सम्पन्न हुदैन तबसम्म राज्यले देखेको समृद्धिको सपना कदापि पूरा हुन सक्दैन् । सधै संघर्षमा बाँच्नुपर्ने बाध्यताका बिच उन्नतिको पाइला चाल्न कठिन हुन्छ र यो वास्तविकतालाई आत्मसात गर्दै सम्पूर्ण समाजको विकासको लागि पनि महिला नेतृत्व जरुरी छ । यसो भनि रहँदा पुरुषको नेतृत्वले महिलालाई पछयौटे बनायो भन्ने दोषारोपण गर्न खोजेको भने पक्कै होइन तर स्वाभाविक रुपले आफ्नो वर्गको समृद्धिको सुनिश्चितता स्वयं आफै गर्नु प्रभावकारी यथार्थ हो । फेरी पितृसत्तातमक संस्कारमा हुर्केको सोचमा महिला सम्बद्ध सवालहरु जहिल्यैँ दोश्रो दर्जाको हुने प्राथमिकतामा नपर्ने व्यवहार पनि सायद यसैको उपज हुनुपर्छ । उसो त समाजमा “महिलाको शत्रु महिला” “महिलाले गर्न नसक्ने” “प्राप्त नेतृत्व पनि विवादित भयो” भन्ने दुष्प्रचार नगरिएको पनि होइन तर यस्ता नकारात्मक धारणा प्रकृतिक रुपमा रहेको संवेदनशिलतालाई सामाजिक व्यवहार, संस्कार, परनिर्भरता र शारीरिक बनावट आदी निर्मूल गर्न, महिलाकै भनिएको घरभान्सामा पनि आफ्नै निर्णय स्थापित गर्न र साँच्चिकैको अर्थमा मानव भएर बाँच्न सक्न नेतृत्वमा महिला हुनु आवश्यक छ ।

महिलालाई नेतृत्वको कुरा त धेरै गरिन्छ तर सरोकारको विषय चाँही शुरुवात कहाँबाट गर्ने भन्ने हुन्छ यसर्थ यस परिवर्तनको शुरुवात आफैबाट गर्नु नै चुनौतिको विषय हुन् । जबसम्म एउटै कार्यालयमा एउटै पदका पुरुष कर्मचारी सर र महिला कर्मचारी दिदी वा बहिनी भइन्छ, एउटै आन्दोलनबाट उदय भएका पुरुष नेता क्षमतावान भएर र महिला नेता कृपापात्र भएर भन्ने कुरा सुनिन्छ, एउटै तन्त्रविद्या सिकेका पुरुष धाँमिझाँक्री अनि महिला बोक्सी भनिन्छ, एउटै निर्माण कार्यमा संलग्न महिला मजदुरलाई समान काम गरेको पुरुष मजदुरभन्दा कम ज्याला दिइन्छ र आफ्नो आराम सुख त्यागेर गृहस्थ सम्हालेका नारीलाई के नै काम गर्छे र घरमै त बस्छे भनेर लाञ्छना लगाइन्छ तबसम्म प्रगतिका समृद्धिका जति ठूला कुरा गरेपनि ती प्रयासहरु सब निरर्थक हुने निश्चित हुन्छ ।

अबको बाटो भनेको सिँगो देशको समृद्धि र समाजको निरन्तर विकासको लागि महिला सम्बन्धित विषयहरुलाई कुनै पनि बहानामा पन्छ्याउन नहुने र सबैभन्दा महत्वपूर्ण कुरा भनेको परिवर्तनको जग बसाल्न देशसमाजको सम्पूर्ण असरदार घटकहरु एकजुट भई विद्यमान नीति कानून कार्यान्वयन, अपुरो कानून निर्माण गर्न प्रशासन क्षेत्रले सेवा प्रवाह गरेर, राजनीति क्षेत्रले अवसर निर्माण र प्रदान गरेर, विद्यालयले नैतिकताको शिक्षाबाट, समाजले कुरीतिको अन्त्य गर्ने अठोट गरेर र परिवारले आफ्नो व्यवहार संस्कारमा महिलाको विषयलाई प्राथमिकतामा राखेर सशक्तिकरणको पदचिन्ह पहिल्याउन सक्छ । अपेक्षित सुधारका लागि भएका समस्या कमीकमजोरीलाई स्वीकार गर्दै समाधान तर्फ पहल गर्नु नै महिलालाई नेतृत्व हस्तान्तरणको अनिवार्य अन्तरवस्तु हो ।

(शाही नेपाल विद्यार्थी संघकी निवर्तमान केन्द्रिय सदस्य हुन् ।)

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!